गान्तोक, 09 जून। पद्मश्री सम्मानले सम्मानित स्व. बीबी मुरिङलाको निधनमा एसडीएफ पार्टीले गहिरो शोक व्यक्त गर्दै उनको मृत्यु सिक्किमका लागि अपूरणीय क्षति रहेको बताएको छ।
एसडीएफ प्रसार प्रसार उपाध्यक्ष कृष्ण खरेलले विज्ञप्तिमा भनेका छन्, पद्मश्री सम्मानले सम्मानित स्व. बीबी मुरिङलाको निधनको खबरले एसडीएफ पार्टी स्तब्ध बनेको छ। स्व. मुरिङला वरिष्ठ सरकारी अधिकारीको रूपमा सेवा पुर्याएर अवकाश प्राप्त गर्नुभएका अत्यन्त सरल, मृदूभाषी र आफ्नो जिम्मेवारीप्रति निष्ठावान हुनुहुन्थ्यो। स्व. मुरिङला साहित्यकार, गीतकार हुनुका साथै लिम्बू भाषालाई शिक्षा प्रणालीमा सामेल गराउने महत कार्यमा ठूलो भूमिका निर्वाह गर्ने वरिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो। लिम्बू जातिको भाषा, धरोहर र संस्कृति बचाउन उनले खेलेको भूमिका अविष्मरणीय र ऐतिहासिक छ। उनी समाजसेवी हुनुका साथै सिक्किम र सिक्किमेलीप्रति सधैं हित चाहने एक गौरवशाली व्यक्तित्व हुनुहुन्थ्यो।
विज्ञप्तिमा भनिएको छ, उनको मृत्यु सिक्किमका लागि अपूरणीय क्षति हो। एसडीएफ पार्टी उनका महत कार्यहरूको अत्यन्त सम्मान जनाउँदै उनको मृत्युमा गहिरो शोक समवेदना प्रकट गर्दछ। उनको आत्माले चीरशान्ति प्राप्त गरोस् भनी ईश्वरसँग प्रार्थाना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ। यो दुःखद समयमा परिवारप्रति पर्न गएको गहिरो चोटलाई सहन गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी एसडीएफ पार्टीले प्रार्थाना गरेको छ। साथै एसडीएफले शोककुल परिवारको दुःखको घड़ीमा हार्दिक समवेदना प्रकट गरेको छ।