कदमताममा मङ्गर जातिको पर्व बाराहिमिजोङ पालन
पूर्व सिक्किमको पाक्योङ जिल्ला अन्तर्गत असम लिङ्जेको कदमताममा वार्ड स्तरीय बारामिजोङ पर्व पालन गरियो। सिक्किमे मङ्गर जातिद्वारा दशैंको रूपमा पालन गरिने यस पर्वको अवसरमा अखिल सिक्किम मङ्गर संघका संस्थापक अध्यक्ष तथा मुख्य सल्लाहकार गोविन थापा मुख्य अतिथि थिए।
कदमताम निम्न माध्यमिक स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा मङ्गर जातिको भाषा, संस्कृति अनि परम्पार संरक्षणको निम्ति काम गर्दै आइरहेका गोविन थापा, अन्तररराष्ट्रिय मङ्गर संघका महासचिव विष्णु राणा, संघका पूर्व महासचिव जेबी थापा र रत्न माया मङ्गरलाई सम्मानित गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गोविन थापाले आयोजक समितिले आर्थिक, शिक्षा र सामाजिक पक्षमा पछाड़िएका स्थानीय बहुसंख्यक मङ्गर जातिको स्थितिलाई सुधार्न गरेको पहलको सराहना गरे। संघले सिक्किमका मङ्गरहरूलाई सबै क्षेत्रमा अघि ल्याउने काम गर्दै आएको उनले बताए। भाषा विकासको संवैधानिक प्रावधानमा चेतना नआएको कारण पनि मङ्गर भाषाको विकास हुन नसकेको हुनसक्ने उनले बताए।

उनले भने, आजभन्दा करीब 400 वर्ष अघिको सिक्किममा लेप्चा, लिम्बू र मङ्गर जातिका राजाले राज गरेका थिए। इतिहासमा धेरै कुरा उल्लेख गरिएका छैनन्। तर पनि इतिहासकार सन्तोष आले (मङ्गर) द्वारा लेखिएको इतिहासलाई आधार बनाएर मङ्गर जातिको विषयमा धेरै जान्न सकिन्छ। उनले अघि भने, मङ्गर जाति अति पछौटे जाति भए तापनि जनजातिको मान्यता पाउन सकेको छैन। इतिहासको आधारमा आदिम जाति भएर पनि अहिलेसम्म जनजातिको मान्यता पाउन नसक्नु दुःखलाग्दो कुरा हो।
आफ्नो सम्बोधमा अन्तररराष्ट्रिय मङ्गर संघका महासचिव विष्णु राणा भने, राज्य स्तरीय संघ मङ्गर भाषा, संस्कृति अनि परम्पराको संरक्षणको निम्ति गठन गरिएको थियो। आज मङ्गर भाषाको विकासीय कार्य अघि बढ़दै गएको भए तापनि भाषाको पठन-पाठन गर्ने विद्यार्थीहरूमा धेरै कमी आएको छ। विद्यार्थिहरूको संख्या बढ़े यसलाई सीबीएसई-मा आबद्ध गराउन पनि सहज पर्ने थियो।
उनले मङ्गर जातिको ऐतिहासिक धरोहर निर्माणार्थ राज्य सरकारले गरेको पहलको पनि सराहना गरे। उनले भने, जनजातिको निम्ति धेरै प्रयास गरिएको छ र आवश्यक दस्तावेजहरू सम्बन्धित निकायमा पुऱ्याइएको छ। राज्य सरकार र केन्द्र सरकारको पहलमा यो कार्य पनि फत्ते हुन्छ भन्ने आशा छ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका प्रतिनिधि जेबी थापाले भने, सिक्किमी भाषाहरूमा मङ्गर जातिको भाषा लुप्त हुने स्थितिमा पुगिसकेको छ। विश्वमा रहेका भाषाहरू धेरै विलुप्त हुँदै जाँदैछन्, जसमा भारतका धेरै भाषाहरू अझ विलुप्त हुने स्थितिमा छन्। हामीले अड्कल लगाउन सक्छौं कुनै पनि भाषा 10 हजारभन्दा कम्ति मानिसले बोल्दैछन् भने त्यो भाषा लुप्त हुने अवस्थामा पुगिसकेको छ।
उनले अझ भने, सिक्किमबाट चाँड़ै नै माझी भाषा लुप्त हुने स्थितिमा पुगेको छ। उनले एउटा अनुसन्धानको उदाहरण दिँदै भने, अहिले सिक्किममा माझी भाषा केवल 4 जनाले मात्र बोल्ने गरेका छन्, जो एउटै परिवारका सदस्य हुन्। उनले मङ्गर जातिका विद्यार्थीहरूलाई मङ्गर भाषा पढ़्नको निम्ति प्रोत्साहित गरे।

कार्यक्रम शुरू हुन अघि मुख्य अतिथि गोविन थापा लगायत अन्य अतिथिले मङ्गर देवी देउरालीहरूको पूजा गरेका थिए। कार्यक्रम आयोजन स्थलमा मङ्गर जातिको खाद्यान्नहरू पनि प्रदर्शनको निम्ति राखिएको थियो। यस अवसरमा जिल्ला पञ्चायत सदस्य सुमन राई, आहो याङ्ताम ग्राम पञ्चायत सदस्य बीएस मङ्गर अनि सेण्टी वार्डका पञ्चायत सदस्य चन्द्र राई, कदमताम स्कूलका हेड मास्टर इन्द्रलाल दुलाल लगायत स्कूलका अन्य शिक्षक अनि विद्यार्थीहरू उपस्थित थिए।