जनताको निम्ति सेवा गर्छु भनेर आएपछि हामीले आफ्नो व्यक्तिगत स्वार्थ हेर्नु हुँदैन: अनित थापा

Spread the love

खरसाङ, 24 अप्रेल। खरसाङ खण्ड अन्तर्गत गिद्ध पहाड़ 29 नम्बर समष्टिको तत्वाधानमा आइतवार यहाँको गौरी शंकर चियाबारी सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समष्टि अध्यक्ष पेमेन्द्र गुरुङको अध्यक्षतामा एक सभा सम्पन्न गरियो। सभामा मुख्य वक्ताको रुपमा उपस्थित पार्टी केन्द्रिय अध्यक्ष अनित थापाले आज पहाड़का विभिन्न राजनीतिक नेताहरूले विपक्षी वा प्रतिपक्षीहरूलाई केवल गाली मात्र गर्ने गरेको सन्दर्भलाई अघि राख्दै यद्यपि उनीसँग भने यस्तो गाली गर्ने कुनै संस्कार नरहेको बताए।

थापाले राजनीति गर्नु भनेको केवल अरुलाई गाली गर्नु मात्र होइन भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले त्यो प्रथालाई नै बन्द गर्ने प्रयास गरिरहेको बताए। उनले जब आफुहरू 2017 को आन्दोलनपछि पहाड़लाई शान्ति राख्न बाहिर निस्किए, त्यस समय पहाड़का प्रायः सबै मानिसहरूले गाली गरेको बताए। तर, आफुहय यसरी बाहिर निस्किनुको मुख्य कारण जनतालाई बिस्तारै बताउन थालेकोले आज पहाड़का धेरजसो जनताले बुझिसकेको उनले बताए। तर, नेताहरूले भने आफ्ना विपक्षी पार्टीका नेतृत्वहरूलाई गाली गर्ने अथवा आरोप-प्रत्यारोप लगाउने कार्य गरिरहेकोमा उनले दुःख व्यक्त गरे।

थापाले भने, ईश्वरले हामी सबैलाई केही न केही राम्रो काम गर्ने मौका दिएका हुन्छन्, त्यसर्थ हामीले सॅंधै राम्रो काम गर्नुपर्छ। मलाई 2017 मा गाली गर्नेहरूलाई मैले केही गरिनॅं, बरु उनीहरूलाई पनि सम्झाउन र बुझाउन छोड़िनॅं। आज सबैले बुझिसकेका छन्। हामी एक ठाउँमा उभिनु पर्छ। जब हामी एक ठाउँमा उभिन्छौँ तब हाम्रो लड़ाई फत्ते हुन्छ। उनले सङ्गठनमा रहेर मैले के पाएँ होइन, तर मैले सङ्गठनको निम्ति के गर्नुपर्छ? भन्ने सोच राखेर सङ्गठनमा बस्नुपर्छ भनी बताए। उनले भने, ‘जनताको निम्ति सेवा गर्छु भनेर आएपछि हामीले आफ्नो व्यक्तिगत स्वार्थ मात्र हेर्नु हुँदैन।’ थापाले पार्टी प्रतिनिधिहरूलाई सदैव जनताको मनमा रहने खालका कामहरू गर्नुपर्छ भनी सुझाउ पनि दिए।

कार्यक्रममा पार्टीको केन्द्रिय महासचिव अमर लामा, साङ्गठनिक सचिव रतन थापा, खरसाङ महकुमा समिति महासचिव प्रणाम रसाईली, युवा मोर्चा सचिव विज्ञान राई, खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान आदिको विशेष उपस्थिति रहेको थियो।-हनोक थापा

 

(फाइल फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *