जीटीए चिफ् अनित थापाले भोलि 14 दिसम्बरको दिन खरसाङको गौरी शंकर चियाबारीमा सम्पूर्ण गिद्ध पहाड़ ब्लकलाई पुग्ने 18 करोड़ बराबरको लागतमा पेयजल परियोजनाको शिलान्यास गर्ने जानकारी प्राप्त भएको छ। गौरी शंकर चियाबारीको खेल मैदानमा सम्पन्न हुने एक कार्यक्रममा थापाले परियोजनाको शिलान्यास गर्ने छन्।
29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिका सभासद अनित थापा स्वयं रहेकाले जीटीए चुनाउपछि राम्ररी खुशी मनाउन नपाएकोले भोलि हुने कार्यक्रममा पानीको परियोजनाको शिलान्यास साथै दिउँसो 1 बजीदेखि रंगारंग कार्यक्रम पनि हुने बताइएको छ। यस क्रममा आज कार्यक्रम स्थलको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानको अगुवाईमा भागोप्रमोका पदाधिकारीहरूले निरीक्षण गरेका थिए।
यस विषयमा पत्रकारहरूसित कुराकानी भागोप्रमोको खरसाङ गिद्ध पहाड़ समष्टिका सचिव भक्तिमान तामाङले भोलि जीटीए चिफ् अनित थापाले 18 करोड़ बराबरको लागतमा पेयजल परियोजनाको शिलान्यास गर्ने बताए। साथै दिउँसो रंगारंग कार्यक्रम पनि प्रस्तुत गरिने उनले बताए। दार्जीलिङको कार्निभल ब्याण्ड र खरसाङको बागिना सांगीतिक टोलीले सांगीतिक प्रस्तुति दिने साथै हाँस्य कलाकार महेन्द्र बागदासको पनि प्रस्तुति रहने उनले बताए।