जबसम्म पहाडमा नयाँ व्यवस्था आउँदैन तबसम्म अहिले भएको व्यवस्था चल्नुपर्छ: अनित थापा

जबसम्म पहाडमा नयाँ व्यवस्था आउँदैन तबसम्म अहिले भएको व्यवस्था चल्नुपर्छ: अनित थापा

Spread the love

बिजनबारी, 23 मई। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पुल बिजनबारी गोक समष्टिले आज बिजनबारीमा एउटा राजनैतिक कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केन्द्रिय उपाध्यक्ष सतिश पोख्रेलको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष अनित थापाले पहाडमा अहिले शान्ति कायम रहेको र अब विकासको निम्ति काम गर्नुपर्ने बताए। उनले वर्तमान समयमा चलिरहेको जीटीए चुनाउको होहल्लाको विषयमा बोल्दै जबसम्म पहाडमा नयाँ व्यवस्था आउँदैन तबसम्म भएको व्यवस्था चल्नुपर्छ भनी बताए।

उनले राज्य सरकारसॅंग मिलेर काम गर्नु नै पहाडको हितमा रहेको बताउँदै सबै नेताहरु राज्य सरकारसॅंग मिलेकै हुन्छ, तर नेताहरुलाई थाहा छ साँचो कुरा गऱ्यो भने भोट पाउँदैन भनेर जनतालाई बंगाल विरोधी बनाउँछन् र यो सबै मनोवैज्ञानिक खेल मात्र रहेको बताए। उनले भने, पहाडको जनताले यो यथार्थलाई स्वीकार गर्नुपर्छ, जनताले सत्य कुरा र यथार्थलाई आजसम्म रुचाएको छैन, पचाएको छैन। यसरी यथार्थलाई स्वीकार नगर्नु पहाडको हितमा छैन। बंगालसॅंग हाम्रो केही पनि सम्बन्ध छैन भन्ने नेता पनि अहिले डराउँदैछ, कारण उसलाई थाहा छ बंगाल सरकारसॅंग मिलेर उसले पनि काम गर्नै पर्छ।

अध्यक्ष थापाले अघि भने, ‘जबसम्म जनता र हाम्रो सपना अनि विचार मिल्दैन, तबसम्म हामीले हाम्रो सपनालाई साकार बनाउन सक्दैनौं। त्यसैले हामी सत्यको राजनीति गर्छौं। मैले कसैलाई गाली गरे भने उटपट्याङ्ग कुरा गरे भने तपाईहरुलाई पनि मज्जा आउँछ, तर मैले गाली गर्ने संस्कार त्यागेको छु। हाम्रो समूहले सकारात्मक राजनीति गर्ने सोच लिएर अघि आएको छ। चुनाउ भयो भने हामी चुनाउमा जानेछौं। पहाडमा कोही पनि गोर्खाल्याण्डको विरोधी छैन, तर भाजपाले देखाउने चाहीं ललीपप मात्र हो। भाजपाले दिने चाहीं केही छैन, पहाडलाई बिगार्ने काम मात्र गर्छ।’

सभालाई पार्टी महासचिव अमर लामा, भागोप्रमोको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रिय कार्यकारी सभापति जेबी तामाङले पनि सम्बोधन गरेको थियो। कार्यक्रममा विभिन्न राजनैतिक दलहरू त्यागेर 59 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published.