गान्तोक, 18 जून। भारत सरकारले हालैमा शुभारम्भ गरेको अग्निपथ योजनालाई भाजपा सिक्किमले स्वागत जनाउॅंदै यसलाई केन्द्र सरकारको ऐतिहासिक योजना बताएको छ।
भाजपा सिक्किमका प्रवक्ता डा. राजु गिरीले देशका युवाहरूलाई राष्ट्रसेवाको सर्वोत्तम अवसर प्रदान गर्दै उनीहरूलाई क्षमताशील तथा आत्मनिर्भर बन्ने विकल्पका साथ भारत सरकारले गत 14 जूनको दिन अग्निपथ योजनाको शुभारम्भ गरेको बताएका छन्। यस योजना अन्तर्गत युवाहरूले 4 वर्षको निम्ति सेनामा भर्ना भएर राष्ट्रसेवामा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन् भने त्यसपछि यस योजना अन्तर्गत भर्ना भएका मध्ये 25 प्रतिशतलाई पूर्णकालीन सेनामा समावेश गरिने अनि अन्य 75 प्रतिशतलाई एकमुष्ठ सेवानीधि प्याकेज प्रदान गरेर वैकल्पिक मार्ग रोज्न सक्षम बनाउने प्रावधान रहेको पनि उनले स्पष्ट पारेका छन्।
प्रवक्ता गिरीले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘यस योजनाबाट एकातिर देशका युवाहरूलाई सर्वोत्तम अवसर प्राप्त हुनेछ भने अर्कोतिर देशको रक्षातन्त्र पनि पूर्ण जोश र साहसले भरिपूर्ण हुनेछ। देशप्रेमी युवाहरूको पक्षमा केन्द्र सरकारको यस ऐतिहासिक योजनाको भाजपा सिक्किम सहृदय स्वागत जनाउँदछ।’ सेनामा रूपान्तरित सुधार ल्याउने उद्देश्यले शुरू गरिएको यस योजना अन्तर्गत 17.5 देखि 21 वर्षसम्मका युवाहरूले भर्ना पाउनेछन् भने विगत दुई वर्ष कोविड महामारीको प्रभावलाई ध्यानमा राख्दै वर्ष 2022 को निम्ति यो उमेर सीमालाई 23 वर्ष बनाइएको पनि उनले जानकारी गराएका छन्। यस योजना अन्तर्गत आगामी 90 दिनभित्रमा भर्ना प्रक्रिया शुरू हुनेछ भने यो वर्ष 46,000 अग्निवीरहरू भर्ना गरिनेछ।
उनले भनेका छन्, ‘सेनाको यो तप्कालाई अग्निवीरको नाम दिइएको छ भने उनीहरूलाई शुरूमा प्रतिमहिना 30 हजार रुपियाँ प्रतिमहिना प्रदान गरिनेछ जो चौथो वर्षसम्म पुग्दा 40 हजार प्रतिमहिना प्राप्त हुनेछ। यस अतिरिक्त जोखिम तथा परिश्रम भत्ता पनि प्रदान गरिनेछ भने सेनाले पाउने सबै सुविधाहरू पनि सामेल छ। अग्निवीरले पाउने वेतनबाट प्रतिमहिना 30 प्रतिशत सेवानीधि कोषमा जम्मा हुनेछ भने सरकारले थप 30 प्रतिशत (शुरूमा 9 हजार) प्रदान गर्नेछ जो बढ़ेर 4 वर्षमा रू. 11.71 लाख पुग्नेछ, जो कार्यकाल समाप्त गरेर फर्किने अग्निवीरहरूले एकमुष्ठ रूपमा प्राप्त गर्नेछन् अनि यो रकम आयकरबाट मुक्त हुनेछ। यस तिरिक्त अग्निवीरहरूलाई आफ्नो कार्यकालभरिको निम्ति रू. 48 लाखको जीवन बीमा पनि प्रदान गरिनेछ।’
‘अर्कोतिर, राष्ट्रसेवाको निम्ति उत्सुक युवाहरूको निम्ति यो योजना ठूलो अवसरको रूपमा अघि आएको छ। एकातिर, छोटो समयको निम्ति राष्ट्रसेवाको अवसर छ भने 4 वर्षपछि क्षमतावान, अनुशासित एवं आत्मनिर्भर जीवन जिउने प्रशस्त विकल्प पनि रहनेछ। 4 वर्षको अवधि समाप्त गरेर फर्किएका अग्निवीरहरूलाई केन्द्र सरकारको गृह मन्त्रालयले अन्य सुरक्षा बलमा 10 प्रतिशतको आरक्षण साथै 3 वर्षको उमेरमा छुट प्रदान गर्ने घोषणा गरेको छ भने विभिन्न राज्य सरकारहरूले राज्य पुलिस बलमा प्राथमिकता दिने घोषणा गरिसकेका छन्’- विज्ञप्तिमा भनिएको छ।
यसैबीच सिक्किम सरकारले पनि 4 वर्षको कार्यकाल समाप्त गरेर फर्किने अग्निवीरहरूलाई सिक्किम पुलिसमा सोझै भर्ना दिने हिजो मात्र मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेका छन्। भाजपा सिक्किमले राज्य सरकारको यस घोषणाको स्वागत जनाउँदै राज्यका युवाहरूलाई यस ऐतिहासिक अवसरबाट लाभ उठाउन आफ्नो तयारी शुरू गर्न आह्वान गरेको छ।
अर्कोतिर, देशका कतिपय राज्यहरूमा यस योजनाको विरोधमा सार्वजनिक सम्पत्तिहरूमा आगजनी र क्षति पुऱ्याउने घटनाहरू अघि आइरहेका छन्, त्यसको भाजपा सिक्किम कड़ा शब्दमा निन्दा गर्दै सेनामा भर्ना भएर देशको सेवा गर्ने लक्ष्य लिएर बसेका युवाहरूले देशको सम्पत्तिलाई कद्दापि क्षति पुऱ्याउन सक्दैनन् भनी बताएको छ। जो यस्ता हिंसाका घटनाहरूमा सामेल भइरहेका छन्, उनीहरू केवल राजनीतिप्रेरित प्रतिवादको एउटा हिस्सा मात्र हुन् जसलाई विगतका सीएए र किसान कानूनविरूद्धका तथाकथित आन्दोलनहरूमा प्रत्यक्ष देख्न पाएको बताइएको छ। युवाहरूलाई यस योजनाबारे सठीक जानकारी राख्ने अनि विपक्षीहरूद्वारा फैलाइएका तमाम अफवाहहरूलाई पर्वाह नगर्ने भाजपा सिक्किमले आह्वान पनि गरेको छ।