“ प्रश्न – भारतीय कृषि अनुसन्धान संस्थान, नयाँ दिल्लीमा सम्पन्न ग्लोबल अर्ग्यानिक एक्स्पो, 2022 -मा तपाईंको अनुभव कस्तो रह्यो?
उत्तर –
भारतीय कृषि अनुसन्धान संस्थान, नयाँ दिल्लीमा आयोजित ग्लोबल अर्ग्यानिक एक्स्पोमा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनपाउँदा मलाई बेहद खुशी लागेको छ। कार्यक्रम आई.सी.ओ.एन.ई.एक्स. -को सहयोगितामा स्वास्थ्य, पर्यावरण, बचाउ एवम् टिकाउ विकासका पेशेवर समाजले आयोजना गरेको थियो, र कार्यक्रममा कृषि विज्ञानी, कृषि नेतृत्व, किसान तथा कृषि-आधारित उद्योगपतिहरू उपस्थित थिए। कार्यक्रममा मलाई अर्ग्यानिक राज्य सिक्किमका जनक(True Father of Organic State of Sikkim)-को रूपमा सम्मानित गरियो। आज यो सम्मान म ती सबैसँग साझा गर्न चाहन्छु, जसले सिक्किमलाई विश्वको पहिलो अर्ग्यानिक राज्य बनाउन योगदान दिनुभएको थियो, र छ। यो सम्मानलाई म सिक्किमका ती सम्पूर्ण कृषक, अफिसर, तकनिकीविद्, मेरा सहकर्मी तथा मिडियालाई समर्पित गर्नचाहन्छु, जसले यस अभियानमा सकारात्मक भूमिका निर्वहन गर्नुभएको छ।
अर्ग्यानिक फार्मिङको क्षेत्रमा विश्वलाई नै नेत्तृत्व दिने अग्रदूतको रूपमा सिक्किमले मान्यता प्राप्त गरिरहँदा मलाई प्रसन्नतासँगै औधी गौरवबोध पनि भएको छ। आज अर्ग्यानिक फार्मिङ र सिक्किम पर्यायवाची बनेको छ। र सिक्किमको अर्ग्यानिक ब्राण्डिङ हाम्रो अनुपम उपलब्धि बनेको छ। आज विश्वमै कञ्चनजङ्घापछि अर्ग्यानिक फार्मिङ सिक्किमको दोश्रो सर्वोच्च परिचय बन्नसकेको छ। सिक्किमको अर्ग्यानिक ब्राण्डिङलाई सदुपयोग गरेर विश्वलाई हाँक्ने अवसर लिन म विशेषतः सिक्किमका युवा पुस्तालाई आह्वान गर्नचाहन्छु।
हामीले 24 फरवरी, 2003 -मा शुरू गरेर 31 दिसम्बर, 2015 -मा पूरा गरेको यात्रालाई यहाँ सम्झना गर्नु जरूरी छ। यस अवधिको कठोर मेहनत र कटिबद्धताले सिक्किम पूर्ण जैविक राज्य बनेको घोषणा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले गर्नुभएको थियो। यस अवधिमा हजारौं सिक्किमेली जनताले गरेका परिश्रम, त्याग, लगन र अटुट कोसिसलाई पनि हामीले भुल्नुहुँदैन। अर्ग्यानिक राज्यको रूपमा सिक्किमले विश्वलाई अत्यन्त महत्वपूर्ण सन्देश दिएको छ। र विश्वले पनि सिक्किमको यो सन्देशलाई गम्भीरता र सहर्षताले स्वीकार गरेको छ। आज भारत सरकारले पनि अर्ग्यानिक फार्मिङलाई कृषि क्षेत्रको एक महत्वपूर्ण अङ्गको रूपमा राष्ट्रिय कार्यक्रममा सामेल गराएको पाउँदा मलाई ज्यादै खुशी लागेको छ। सम्भवतः अर्ग्यानिक फार्मिङलाई राष्ट्रिय कार्यक्रममा सामेल गराउने हाम्रो देश नै पहिलो हुनुपर्छ।
मैले आफ्नो सम्बोधनमा अर्ग्यानिक फार्मिङ कृषिको अहिंसात्मक र पर्यावरण-मैत्री रूप हो भन्ने कुरा राख्दै यो केवल मानव स्वास्थ्य र किसानहरूको वित्तीय लाभको लागि मात्र नभएर सम्पूर्ण प्रकृति एवम् जीव-मण्डलकै दीर्घकालीन संरक्षणको लागि जरूरी छ भन्ने विचार राखें। यसको अन्तर्यमा सम्पूर्ण जीवनको सुदीर्घ खुशियाली, शान्ति र सुरक्षाको आशय अन्तर्निहित छ। सम्पूर्ण विश्वले नै अर्ग्यानिक फार्मिङ शुरू गरेमा विश्व कार्बन-डाइअक्साइड उत्सर्जनमा 20 प्रतिशत कमी आउनेछ।
वैश्विक उत्तप्तीकरण(ग्लोबल वार्मिङ) उल्लेखनीय मात्रामा घट्नेछ। जल, वायु, जमीन र सम्पूर्ण पर्यावरणको शुद्धीकरण हुनेछ। मानव रोग, व्याधी, महामारी घट्नेछन्। मेरो अनुभवको आधारमा मैले यो कुरो पनि राखें कि यदि हाम्रो देश तदारूकतासहित अर्ग्यानिक फार्मिङको दिशामा अघि बढ़े, 2040-सम्ममा भारतलाई नै अर्ग्यानिक देशमा रूपान्तरण गर्नसकिनेछ। अनि त्यसो भएमा विश्वमै यो कीर्तिमान आर्जन गर्ने पहिलो देश भारत बन्नेछ। अर्ग्यानिक फार्मिङ केवल रसायनमुक्त कृषि उत्पादन गर्ने कुरो मात्र होइन, तर यो त दीर्घकालको निम्ति सम्पूर्ण पृथ्वीकै सुस्वास्थ्यलाई सुनिश्चित गर्ने अभियान हो।”