सोरेङ, 05 जून । सोरेङ जिल्लाको विभिन्न स्थानमा आज विश्व पर्यावरण दिवस पालन गरियो। यहाँको टिम्बुरबुङ माध्यमिक विद्यालयमा पनि विविध कार्यक्रमको साथमा विश्व पर्यावरण दिवस पालन गरियो। सो स्कूलको पेक्षागृहमा आयोजित कार्यक्रममा क्षेत्र विधायक एवं सिक्किम विधानसभा अधीनस्थ जनलेखा समितिका अध्यक्ष आदित्य गोले प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
विधायको साथमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार मेघनाथ सुब्बा, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेम कुमार सुब्बा, सीएलसी अध्यक्ष सुकराज सुब्बा, शिक्षा विभागका उप-निर्देशक एमके खेवा, सम्बन्धित स्कुलका प्रधानाध्यापक डीएच सुब्बा, पञ्चायतगण, नागरिक समाजका प्रतिनिधिगण, स्कूल अलुम्नी, स्कूल सञ्चालन समिति, अभिभावक, शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति थियो।
विधायक आदित्य गोलेले प्रथमतः स्कूल परिसरमा गुराँसको विरुवा रोपे पश्चात् कार्यक्रमको शुरुवात भयो। 50 वर्षअघि संयुक्त राष्ट्र संघको महासभाले दिएको नारा ‘केवल एक पृथ्वी’-लाई पुन: यस वर्ष पनि विश्वले नाराको रूपमा लिँदै पर्यावरण दिवस मनायो। सन् 1972 मा संयुक्त राष्ट्र संघ महासभाले मानव र पर्यावरणबीच संतुलन राख्न पहिलोपटक विश्व पर्यावरण दिवस पालन गर्ने अवधारणालाई स्थापना गरी विश्व पर्यावरण दिवस पालन गरिन थालिएको हो। त्यसबेला पनि संयुक्त राष्ट्रसंङ्घीय पर्यावरण कार्यक्रम अन्तर्गत ‘केवल एक पृथ्वी’ भन्ने नै नारा दिएको थियो। आज 50 वर्षपछि फेरि त्यही नारा लिएर विविध कार्यक्रम आयोजना गरी पर्यावरण संरक्षण र सम्बर्द्धनको दिशामा विश्व एकजुट भएको छ।
यता सिक्किम राज्यले पनि प्रतिवर्ष झैं पर्यावरण दिवस पालन गऱ्यो। विश्व पर्यावरण दिवसको अवसरमा विधायक आदित्य गोलेले टिम्बुरबुङ माध्यमिक विद्यालयका नवनिर्मित बहुउद्देश्यीय कक्षाको विधिवत उद्घाटन गरेर स्कूललाई समर्पित गरे। कार्यक्रममा टिम्बुङबुङ स्कूलले आफ्नो स्कूल र गाउँको नाम राष्ट्र र अन्तरराष्ट्रिय स्तरमा रोशन गर्नै यसै स्कूलमा अध्ययन गरेका तीन विद्यार्थीहरुलाई मुख्य अतिथि विधायक गोलेको हातबाट अभिनन्दन जनायो। आज अभिनन्दित हुनेहरुमा टिन युनिभर्स 2022-को निम्ति भारतको प्रतिनिधित्व गर्ने टिन एसिया सहारा हाङ्ग सुब्बा, राष्ट्रिय महिला फुटबल खेलाडी मुस्कान सुब्बा र टिम्बुरबुङ स्कुलकै उपज ह्युमेनिटी स्टीममा 2021-को राज्य टप्पर बिन्दास छेत्री रहेका छन्।
यहाँ आयोजित अन्तर स्कूल चित्रकला प्रतियोगिता अन्तर्गत प्राथमिक वर्गमा कर्थोक स्कूलकी रोमित लेप्चा प्रथम, कर्थोक स्कूलकै विवेक भुजेल दोस्रो र लोवर टिम्बुरबुङ स्कूलका छात्र अभिषेक प्रधान तेस्रो बने। यसरी नै कार्यक्रममा विद्यार्थीहरुले अंग्रेजी र नेपाली भाषामा स्वरचित कविता वाचन गरेका थिए भने पर्यावरण संरक्षणमाथि नाटकको प्रस्तुति गरेर विद्यार्थीहरुले उपस्थित दर्शकहरुको मन जितेका थिए। अर्कोतिर निम्न माध्यमिक वर्गको अन्तरविद्यालय चित्र प्रतियोगितामा टिम्बुरबुङ स्कूलकै तीनजना विद्यार्थी दिपसन लेप्चा प्रथम, सेमिना सुब्बा दोस्रो र मिशेक सुब्बा तेस्रो बन्न सफल बने।
कार्यक्रममा विधायक आदित्य गोले, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा र प्रधानाध्यापक डीएच सुब्बाले पनि सम्बोधन गरेका थिए।