47औं राज्य दिवस सोमवार राजधानीको मनन केन्द्रमा भव्यरूपमा मनाइयो। कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। कार्यक्रममा मन्त्रीगण, विधायकगण, लोकसभा सांसद, मुख्य सचिव, विभिन्न विभागीय प्रमुखहरू, सरकारी कर्मचारीहरू आदि उपस्थित थिए।
कार्यक्रममा सिक्किमकी पर्वतारोही मनिता प्रधानलाई सिक्किमको सर्वोच्च नागरिक पुरस्कार ‘सिक्किम रत्न’ ले सम्मानित गरियो। उनले हालैमा विश्वकै सबैभन्दा उच्च हिम शिखर माउण्ट एभरेस्टको सफल आरोहरण गरेका थिए। राज्यपाल र मुख्यमन्त्रीको बाहुलीद्वारा उनलाई नगद पॉंच लाख, प्रशस्ति पत्र र स्मृति चिन्ह अर्पण गरियो।
यसैगरी, नेपाली फिल्म जगतका एक चर्चित फिल्म निर्देशक एवं निर्माता उगेन छोपेललाई उनको उल्लेखनीय योगदानको निम्ति ‘सिक्किम सेवा रत्न’ ले सम्मानित गरियो। उनलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीद्वारा नगद दुई लाख, प्रशस्ति पत्र एवं स्मृति चिन्ह अर्पण गरियो। यसरी नै लोक संगीतकार एवं नर्तक नरेन गुरूङलाई ‘सिक्किम सेवा सम्मान’ ले सम्मानित गरियो। पुरस्कार स्वरूप उनलाई एक लाख नगद, प्रशस्ति पत्र र स्मृति चिन्ह अर्पण गरियो।
यस वर्ष सिक्किम पुलिसले आफ्नो स्थापनाको 125औं वर्षगॉंठ पालन गरिरहेको छ। कार्यक्रममा लेडी कन्स्टेबल अमन्ना राई र लान्स नाइक बिकास शर्मालाई उनीहरूको उत्कृष्ट सेवाका लागि ‘क्वासक्विसेन्टिनीयल मेडल’ ले सम्मानित गरियो। राज्यपालले द्वयलाई मेडल लगाइदिएका थिए। यस अतिरिक्त, कार्यक्रममा राज्यपाल र मुख्यमन्त्रीको बाहुलीद्वारा उत्कृष्ट सेवा पुरस्कारका लागि मुख्यमन्त्री प्रहरी पदक अनावरण गरियो। उक्त पुरस्कार प्रत्येक वर्ष सिक्किम पुलिसको पासिङ आउट परेडको समय प्रदान गरिने छ।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै राज्यपाल प्रसादले सिक्किमवासीहरूलाई देशको 22औं राज्यको रूपमा 47 वर्ष पूरा गरेकोमा बधाई व्यक्त दिए। सिक्किमले विभिन्न क्षेत्रहरूमा स्वयंलाई एक उच्च प्रगतिशील राज्यको रूपमा स्थापित गरिसकेको छ भन्दै विगत तीन वर्षका कतिपय उपलब्धीहरूमाथि प्रकाश पारे। उनले राज्यका विकास पहलहरूलाई निरन्तरता दिॅंदै सिक्किमलाई एक आत्मनिर्भर राज्य बनाउन योगदान दिन आह्वान गरे। उनले विभिन्न प्रोत्साहन र प्राविधिक सहायताको माध्यमद्वारा कृषि समुदायलाई सशक्त बनाउनु पर्ने विषयमा बल दिएका थिए।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा राज्य स्थापना दिवसको बधाई एवं शुभकामना व्यक्त गर्दै देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृह मन्त्री र विभिन्न राज्यका मुख्यमन्त्रीहरू, सांसदगणप्रति शुभकामना सन्देशका लागि धन्यवाद दिए। उनले सिक्किम सरकारका पूर्व मुख्यमन्त्रीहरूलाई पनि स्मरण गरे, जसको योगदानका कारण सिक्किम आज यहॉंसम्म आउन समक्ष बनेको छ।
उनले यसपाली चार दिवसीय राज्य दिवस समारोह पालन भइरहेको जानकारी गराए। उनले यस समारोहको समापन आगामी 19 मईको दिन राष्ट्रिय राजधानी नयॉं दिल्लीमा हुने थप जानकारी दिए। उनले राज्य दिवस समारोह आजादीको अमृत महोत्सव सॅंगसॅंगै मनाइएको पनि अवगत गराए। उनले आफ्नो सम्बोधनमा वर्तमान सरकारको अगुवाईमा सिक्किमले हासिल गरेका विभिन्न उपलब्धीहरूमाथि पनि प्रकाश पारेका थिए।
मुख्यमन्त्रीले आज कार्यक्रममा तीनवटा महत्वपूर्ण घोषणा गरे। उनले गेजिङ डिग्री कलेजको नाम सिक्किमका पूर्व मुख्यमन्त्री स्व. सञ्चमान लिम्बूको नाममा राख्ने घोषणा गरे। उनले गेजिङ डिग्री कलेजको नाम अब सञ्चमान लिम्बू सरकारी डिग्री कलेज राखिने बताए। यसरी नै उनले गेलिङ उच्चतर माध्यमिक विद्यालयको नाम डा. भीमराव अम्बेडकर उच्चतर माध्यमिक विद्यालय राख्ने पनि घोषणा गरे। यस क्रममा उनले एड्हक, एमआर र कन्ट्र्याक्टमा कार्यरत कर्मचारीहरूले रेफरल केसहरूमा मुख्यमन्त्री स्वास्थ्य सुरक्षा योजना अन्तर्गत 2.5 लाख रूपियॉंसम्म चिकित्सा प्रतिपूर्ति पाउने घोषणा गरे।
कार्यक्रममा मर्डन उच्चतर माध्यमिक विद्यालय र देवराली कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए।