सिक्किम आइडलको टप 24 प्रतियोगिबीच अर्केस्टा राउण्डमा प्रतिस्पर्धा शुरू
गान्तोक, 20 अप्रेल। सिक्किमे सङ्गीत कलाकारहरूको निम्ति आयोजित सिक्किम आइडल सिजन एक-को अर्केस्टा राउण्ड आजदेखि आरम्भ भयो। भीआईपी कोलनीमा स्थित सिक्किम आइडलको सेटमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको उपस्थितिमा प्रतियोगिताको यो चरण आरम्भ भयो। जम्मा दुई वर्गमा रहेको यो प्रतियोगितामा आज पहिलो दिन वरिष्ठ वर्गकाहरूको निम्ति लाइभ आर्केस्टामा प्रतियोगिहरूले आफ्नो प्रदर्शनी दिएका थिए। यो वर्गमा जम्मा 24 जना प्रतियोगी रहेका छन्। यसैगरी जुनियर वर्गमा पनि 24 जना कलाकारहरूले अर्को राउण्डको निम्ति प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रममा ग्राण्ड जूरीको रूपमा दार्जीलिङका स्वनाम धन्य कलाकार जोड़ी डेजी बराइली र चन्दन लमजेल उपस्थित थिए। सिक्किम आइडलका जूरी नरेन गुरुङ, रेमन्ती राई र मनोज राईसितै ग्राण्ड जूरीले प्रतियोगीहरूको प्रस्तुतीलाई खुबै मिहिन पाराले अवलोकन गरेर मन्तव्य जारी गरेका थिए।

कार्यक्रमलाई छोटो सम्बोधन राख्दै मन्त्री शर्माले राज्य सरकारले सिक्किमे प्रतिभाहरूलाई मञ्च प्रदान गर्न र प्रोत्साहन गर्न सबै दिशामा काम गरिरहेको बताए। यसै क्रममा एउटा कड़ीको रूपमा सिक्किम आइडल पनि सञ्चालन भइरहेको जसमा मुख्यमन्त्री प्रेम सिंह तामाङको सोंच सम्मिलित रहेको दाबी गर्दै सरकारको पक्षबाट मञ्चलाई सिक्किमे कलाकारकोनिम्ति सक्दो सहयोग गर्ने वाचा पनि गरे। उनले सबै प्रतियोगी निर्णायक र आयोजक समितिलाई बधाई तथा आभार पनि प्रकट गरेका थिए।
अर्कोतिर आयोजकको पक्षबाट आफ्नो कुरा राख्दै मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले सबै प्रतियोगीहरूलाई कला प्रति प्रतिबद्ध रहने आह्वान गर्दै सिक्किम आइडलमा हार जीतले कलाको विकासालई भने नरोक्ने बताउँदै दृड़ सङ्कल्प साथ कला साधनामा निरन्तर लागि पर्ने प्रतियोगीहरूलाई आह्वान गरे। राज्यमा नयाँ सरकारको गठनपछि यस प्रकारको क्रियाकलाप शुरू गर्नको पछि लामो समयदेखिको सपनालाई साकार पार्ने प्रयासकोरूपमा थालिएको सिक्किम आइडल कार्यक्रम मार्फत भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको रूपमा विकास गरेर कलालाई प्रोत्साहन र संरक्षण गर्ने योजना रहेको बताए।
कार्यक्रममा डेजी बराइलीले उनको सर्वकालिक चर्चित गीत भैंसी लड्यो है माया भीरबाट हेर गाएर दर्शक श्रोतालाई मख्खै बनाइन। दार्जीलिङको प्याराकिट्स ब्याण्ड र सिक्किमका कलाकारहरूले सञ्चालन गरिरहेको अर्केष्टाको साथमा सङ्गीतकार चन्दन लम्जेलले गायिका बराइलीलाई एकोर्डियन बजाएर साथ दिएका थिए। प्रतियोगिताको पहिलो दिन विशिष्ठ अतिथिकोरूपमा वरिष्ठ सङ्गीतकार किरण रसाइली, पहिलो स्वर सिक्किम मिलन शर्माको उपस्थिति रहेको थियो। यसैगरी प्रेस क्लब अफ सिक्किम, जर्नलिस्ट युनियन अफ सिक्किमका कार्यकारी तथा प्रतिनिधिहरू विशिष्ट अतिथि दर्शककोरूपमा उपस्थित थिए।