सचिव कुमारले पाकिम जिल्ला पशुपालन कार्यालय र पशु चिकित्सा अस्पतालको भ्रमण गरे
गान्तोक, 29 अप्रेल। राज्य पशुपालन एवं पशु चिकित्सा सेवा विभागका सचिवले जिल्ला पशुपालन कार्यालय र पशुचिकित्सा अस्पतालहरूको स्थिति आकलन गर्न अनि आवश्यकताहरू बुझ्न पाकिम पशु चिकित्सा अस्पतालको भ्रमण गरेका छन्। सचिवले पाकिम जिल्लाको गठनलाई ध्यानमा राख्दै भ्रमणग गरेको बताइएको छ। पाकिम अस्पतालमा विभिन्न घरेलु पशुहरू उपचारको निम्ति ल्याइने गरिन्छ।
सचिव डा. पी. सेन्थिल कुमारले अस्पतालमा पाकिम जिल्लाकी संयुक्त निदेशक डा. अंजुला प्रधान, उप निदेशक डा. के. भोटिया, पशु चिकित्सा अधिकारीहरू र अन्य कर्मचारीहरूसित अन्तरक्रिया गरे। यस अवसरमा अस्पतालका पूर्वाधार, उपकरणहरू र सेवा वितरण सम्बन्धित विभिन्न पक्षहरूमाथि चर्चा गरियो। टीमले पशु चिकित्सा अस्पताल भवनको निर्माण कार्य चॉंडो पूरा गर्न बल दिएको छ, जुन अहिले ठेकादारको मृत्युपछि पूरा गर्नु पर्ने स्थितिमा रहेको छ।
डा. कुमारले विभागलाई केसहरू रिपोर्ट गर्न र अस्पतालका आवश्यकताहरू बताउन सुझाउ दिए। पूर्वाधार र जनशक्तिबीचको अन्तर र भविष्यमा सम्भावित बढ्दो पशु चिकित्सा स्वास्थ्य हेरचाह गतिविधिहरूलाई ध्यानमा राखेर समाधान खोज्न चर्चा गरियो। सचिवले पाकिम अस्पतालका अधिकारीहरू र कर्मीहरूको कार्यको सराहना गर्दै अझ राम्रो सेवा प्रदान गर्न प्रोत्साहन प्रदान गरे। उनले विभागको तर्फबाट संस्थानको सुदृढ बनाउन हर सम्भव सहायताको आश्वासन दिए।-हिस