एमसीएक्स मामिलामा भाजपाद्वारा सदर थानामा प्राथमिकी दर्ता

एमसीएक्स मामिलामा भाजपाद्वारा सदर थानामा प्राथमिकी दर्ता

Spread the love

सीबीआईको प्रवेशमाथि लगाइएको रोकलाई नहटाउनु दुर्भाग्यपूर्ण: डीबी चौहान

गान्तोक, 27 अप्रेल। भारतीय जनता पार्टी, सिक्किमले बहु वस्तु विनिमय (एमसीएक्स) मामिलामा प्राथमिकी दर्ता गरेर यस सम्बन्धमा जॉंचको माग गरेको छ। भारतीय जनता पार्टी (भाजपा) ले यस मामिलाको जॉंच सीबीआईलाई सुम्पिनु पर्ने माग पनि गरेको छ। प्रदेश भाजपाका पदाधिकारीहरूले बुधवार सदर थानामा प्राथमिकी दर्ता गराएका छन्।

प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले एमसीएक्स मामिलामा ठूलो स्क्यामको गन्ध आइरहेको कुरा बुधवार आयोजित एक संवाददाता सम्मेलनमा बताए। यस विषयलाई राज्यका मुख्यमन्त्रीले पनि संज्ञानमा लिएर यसको छानबिन गर्न राज्य सतर्कता विभागलाई आदेश दिएका थिए भनी उनले अवगत गराए। तर, प्रदेश भाजपाले राज्य सतर्कता विभागलगायत राज्य प्रवर्तन निदेशालयको कार्यालय र आरबीआईमा गएर सोधपुछ गर्दा यस विषयमा भने जस्तो कारबाही नभएको थाहा लागेको उनले दाबी गरे। अध्यक्ष चौहानले यति गम्भीर अनि संवेदनशील विषयमा कसैलाई सरोकार नभएको देखेपछि प्रदेश भाजपाले आज सदर थानामा प्राथमिकी दर्ता गरेर जॉंचको माग गरेको बताए।

अर्कोतिर, उनले यस विषयमा जॉंचको जिम्मेवारी राज्य सतर्कता विभागलाई सुम्पिनु सही नरहेको बताए, कारण सतर्कता विभागको दायरा राज्यभित्र मात्र सीमित हुन्छ। उनले निकै ठूलै आर्थिक अपराध भएको आशंका व्यक्त गर्दै यसको जॉंच सीबीआईको हातमा सुम्पिनु पर्छ भन्ने माग गरे। उनले सीबीआईलाई जॉंचको जिम्मेवारी नसुम्पिनु पनि शंकाको विषय रहेको बताए।

प्रदेश भाजपा अध्यक्ष चौहानले एसकेएम सरकारलाई राज्यमा सीबीआई ल्याउनु पर्छ भनेर पहिला सॅंगै धरनामा बसेको स्मरण गराउॅंदै आज सत्तामा पुगेपछि आफ्ना वचनहरू बिर्सेको आरोप पनि लगाए। उनले एसकेएम सरकारले यतिका वर्षसम्म पनि राज्यमा सीबीआईको प्रवेशमाथि लगाएको रोकलाई हटाउनु नसक्नु दुर्भाग्यजनक रहेको बताए। उनले राज्यका सम्पूर्ण 32 जना विधायकलाई आउॅंदो विधानसभा सत्रमा सीबीआईको प्रवेशमाथि लगाइएको रोकलाई हटाउन अनुरोध पनि गरे।

उनले सिक्किमका नागरिकहरूको नाममा राज्य बाहिरका मानिसहरूले अथवा सिक्किमकै ब्याङ्कले पनि एमसीएक्समा लगानी गरेको हुन सक्ने बताए। उनले एमसीएक्स मामिलाका कारण सिक्किमेहरूले पाएको आयकर छुटको प्रावधान हट्न पनि सक्ने आशंका व्यक्त गरे। एति ठूलो स्क्याम हुॅंदा पनि सिक्किमको सरकारी तन्त्र, आईएएस र आईपीएस अधिकारीहरूले के गरिरहेका छन् भनी उनले प्रश्न तेर्साए।

प्रवक्ता डा. राजु गिरीले एमसीएक्समा 46 हजार करोड़भन्दा ठूलो मनी लण्ड्रिङ भएको हुन सक्छ भन्ने सम्भावना व्यक्त गरे। उनले सिक्किमका वित्तीय संस्थानहरूको माध्यमद्वारा यहॉं ब्ल्याक मनीलाई व्हाइट मनी बनाउने काम भइरहेको गम्भीर आरोप पनि लगाए। उनले राज्यमा 2020 देखि नै स्क्याम चलिरहेको थियो भने यस विषयमा राज्य सरकारलाई कुनै जानकारी नहुनु दुर्भाग्यपूर्ण रहेको बताए।-हिस

Leave a Reply

Your email address will not be published.